loading...
स्याङ्जा, एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले सम्बोधन गरेको मञ्चमा ढुंगा प्रहार भएको छ । बिहीबारबाट सुरु भएको छैटौँ वालिङ महोत्सवमा ओलीले सम्बोधन गरिसकेपछि ढुंगा प्रहार भएको हो । ढुंगा प्रहारबाट वालिङ उद्योग वाणिज्य संघका कोषाध्यक्ष सुधन श्रेष्ठ र पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ सदस्य रवीन्द्रबहादुर प्रजू घाइते भएका छन् । उनीहरूको आँखामा चोट लागेको छ ।
ओलीले महोत्सवलाई सम्बोधन गर्दै गर्दा नियोजित तरिकाले बिजुलीको लाइन काटिएको भन्दै एमालेनिकट युवाहरूले नाराबाजी र मञ्चमा ढुंगा प्रहार गरेका हुन् । ओलीले महोत्सवलाई सम्बोधन गर्न सुरु गरेको दुई मिनेटमै लाइन गएको थियो । करिब १० मिनेटपछाडि दोस्रोपटक जेनेरेटरबाट आएको विद्युत् पनि बन्द भएपछि हात हल्लाउँदै ओली बिदा भएका थिए । महोत्सवस्थल तनावग्रस्त भएपछि एमाले जिल्ला सचिव सुधीर पौडेलले नाराबाजी रोक्न आग्रह गर्दा युवाहरू झन् आक्रोशित भएका थिए ।
ओलीले निर्वाचन नै संविधानको कार्यान्वयन भएको बताए । आगामी ०७४ माघभित्र तीनवटै निकायको निर्वाचन गरेर संविधान कार्यान्वयन गरी वर्तमान संक्रमणकालको अन्त्य गर्नुपर्ने बताए । देश अहिले संक्रमणकालमा रहेकाले यसको निकासका लागि पनि संविधान कार्यान्वयन जरुरी रहेको उनको भनाइ थियो ।
‘सरकारले अहिले संविधानको कार्यान्वयनभन्दा पनि संविधान संशोधनको कुरा अगाडि सारिरहेको छ,’ ओलीले भने, ‘देशलाई निकास दिएर संक्रमणकालबाट बचाउने नै हो भने छिटोभन्दा छिटो निर्वाचनमा जानुको विकल्प छैन ।’ उनले लोकतन्त्र छाडेर देश प्रतिगमनतर्फ नजाने बताउँदै कुनै शक्ति त्यसका लागि लागे उनीहरूको प्रयास असफल हुने दाबी गरे ।
कांग्रेस केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले संविधान कार्यान्वयन नभए मुलुक दुर्घटनामा जाने बताए । संविधानसभाबाट प्राप्त उपलब्धिको रक्षाका लागि पनि सबै दल एकै ठाउँमा उभिनुपर्नेमा उनले जोड दिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
loading...